अमेरिका–साउदीबीच शान्तिपूर्ण आणविक ऊर्जा सहयोग सम्झौता

वासिङ्टन, ७ साउन – संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले शान्तिपूर्ण प्रयोजनका लागि आणविक ऊर्जा क्षेत्रमा सहकार्य गर्ने ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन्। उक्त सम्झौताले साउदी अरेबियालाई आफ्नो नागरिक आणविक ऊर्जा कार्यक्रम विकास गर्ने बाटो खुला गरेको छ।

अमेरिकी ऊर्जा विभागका अनुसार यो ‘शान्तिपूर्ण आणविक सहयोग सम्झौता’ हो। सम्झौताअन्तर्गत अमेरिकी कम्पनीहरूले साउदी अरेबियाको नागरिक आणविक ऊर्जा कार्यक्रममा व्यापक रूपमा सहभागिता जनाउन पाउनेछन्। सम्झौताका सबै विवरण भने सार्वजनिक गरिएको छैन। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार भविष्यमा यस सम्झौताले साउदी अरेबियालाई युरेनियम समृद्ध गर्ने अनुमति दिने सम्भावना रहेको उल्लेख गरिएको छ।

समृद्ध युरेनियम आणविक ऊर्जा उत्पादनका लागि इन्धनका रूपमा प्रयोग गरिए पनि यही प्रविधि आणविक हतियार निर्माणमा समेत प्रयोग हुन सक्ने भएकाले यसबारे अन्तर्राष्ट्रिय स्तरमा चासो व्यक्त गरिएको छ। विज्ञहरूका अनुसार यदि साउदी अरेबियाले युरेनियम समृद्ध गर्ने अधिकार प्राप्त गरेमा यो अमेरिकाले यसअघि नदिएको किसिमको व्यवस्था हुनेछ। यसले पश्चिम एसियामा आणविक हतियार प्रसारको जोखिम बढ्न सक्ने चिन्ता पनि व्यक्त गरिएको छ।

अमेरिकी ऊर्जा विभागले आणविक सहयोग सम्झौतासँगै अमेरिका र साउदी अरेबियाबीच द्विपक्षीय सुरक्षा सम्झौतामा पनि हस्ताक्षर भएको जनाएको छ। सम्झौतापछि क्षेत्रीय सुरक्षा, ऊर्जा सहकार्य र आणविक अप्रसार व्यवस्थामाथि यसको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायको चासो बढेको छ।

Facebook Comments Box