हङकङसँगको आजको खेलमा नेपाली महिला फुटबल टोलीले बराबरी खेले
काठमाडौँ, ५ असोज – एएफसी महिला एसियन कप–२०२२ छनोटमा हङकङसँगको आजको खेलमा नेपाली महिला फुटबल टोलीले बराबरी खेलेको छ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीमै टुंगिएको हो। नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले आजको खेलमा १ खेलाडी परिवर्तन गरेका थिए। डिफेन्डर पुजा रानाको स्थानमा विमला विकलाई मौका दिएका थिए।
नेपाल र हङकङ सन् १९८९ पछि पहिलो पटक आमनेसामने भएका हुन्। यसअघि नेपालले हङकङसँग खेलेका दुवै खेलमा पराजित भएको थियो। सन् १९८६ मा १–० ले पराजित भएको नेपाल सन् १९८९ मा ३–० को फराकिलो अन्तरले पराजित भएको थियो।
समूह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको थियो। फिलिपिन्स र हङकङबीचको खेल शुक्रबार हुनेछ।समूहको शीर्ष टोलीले जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एसियन कप खेल्नेछ।

