अफगानिस्तानमा भीषण बाढी, २३ जनाको मृत्यु, सयभन्दा बढी बेपत्ता

अफगानिस्तान, ६ साउन  –  अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको भीषण बाढीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी मानिस बेपत्ता भएका छन्। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार आएको बाढीमा ८० जना घाइते भएका छन्। बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकाय र राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

बाढीले प्रान्तीय राजधानी पारुनसहित विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दर्जनौँ घर तथा अन्य भौतिक संरचना भत्किएका छन् भने धेरै परिवार विस्थापित भएका छन्। अधिकारीहरूले देशका विभिन्न भागमा अझै भारी वर्षाको जोखिम कायम रहेको चेतावनी दिएका छन्। मौसम विभागले आगामी दिनमा भारी वर्षा, चट्याङ, हुरीबतास तथा बाढीको सम्भावना औँल्याउँदै ३४ मध्ये १० प्रान्तका लागि उच्च सतर्कता (अलर्ट) जारी गरेको छ।

प्रशासनले स्थानीय बासिन्दालाई नदी किनार तथा बाढीको उच्च जोखिम भएका क्षेत्रबाट टाढा रहन र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। अफगानिस्तानमा पछिल्ला वर्षहरूमा प्राकृतिक विपद्का घटना बढ्दै गएका छन्। गत वर्ष आएको भीषण बाढीमा ३०० भन्दा बढी मानिसको ज्यान गएको थियो। यस वर्ष मात्रै बाढी र पहिरोसँग सम्बन्धित घटनामा ११० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको अधिकारीहरूले जनाएका छन्।

Facebook Comments Box