१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ, ५ साउन – बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहानको मापनअनुसार देशका प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरूको बहाव हाल सामान्य अवस्थामा छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि नियन्त्रणमै रहेको जनाइएको छ।
यद्यपि, देशका १२ जिल्लामा बग्ने साना नदी तथा खोलामा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ। झापा, उदयपुर, मकवानपुर, गोरखा, लमजुङ, जाजरकोट, दैलेख, कालिकोट, डोटी, डडेलधुरा, बैतडी तथा आसपासका क्षेत्रका साना नदीमा वर्षाका कारण बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना रहेको छ।
महाशाखाले साउन ६ र ७ गते पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही साना नदीको बहाव आकस्मिक रूपमा बढ्न सक्ने प्रक्षेपण गरेको छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

