कञ्चनपुरमा च्याउ खोज्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य जारी
कञ्चनपुर, ४ साउन – कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला च्याउ खोज्न जंगल गएका बेला सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न जंगलतर्फ गएका थिए।
प्रहरीका अनुसार उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्ट हुँदै निकुञ्जभित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्। उनीहरू ९ जना र ५ जनाको दुई समूह बनाएर च्याउ खोज्न गएको प्रहरीले जनाएको छ। हाल सम्पर्कविहीन महिलाहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरीले जनाएको छ।

