बसही खोलाको पुल निर्माणमा वर्षौंको ढिलाइ, दुर्घटनाको जोखिम बढ्दै
जनकपुरधाम, ४ साउन – धनुषाको ढल्केबर–जटही सडकखण्डअन्तर्गत मिथिला नगरपालिका–६ स्थित बसही खोलामा निर्माणाधीन पुल वर्षौंदेखि अधुरै रहँदा स्थानीयवासी र यात्रुले सास्ती खेपिरहेका छन्। निर्माणमा भएको ढिलाइले उक्त क्षेत्र दुर्घटनाको उच्च जोखिमयुक्त बिन्दुका रूपमा समेत चिनिएको छ।
ढल्केबरदेखि जटहीसम्मको सडक छ लेनमा विस्तार भइसके पनि बसही खोला पार गर्न अझै पुरानै साँघुरो पुल प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। फराकिलो सडकबाट तीव्र गतिमा आएका सवारीसाधन साँघुरो पुलमा प्रवेश गर्दा चालक अलमलिने र दुर्घटनाको जोखिम बढ्ने गरेको स्थानीयको भनाइ छ।
स्थानीय विजय साहका अनुसार निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माण वर्षौंदेखि अलपत्र परेको छ। यस अवधिमा उक्त क्षेत्रमा धेरै दुर्घटना भइसकेका छन् भने निर्माण सामग्रीसमेत लामो समय खुला रहँदा खिया लाग्न थालेको उहाँले बताउनुभयो। सडक डिभिजन कार्यालय जनकपुरका अनुसार १४ करोड ८ लाख २३ हजार रुपैयाँ लागतमा नागार्जुन–हेक कन्स्ट्रक्सन जेभीसँग २०७६ असार ३१ गते निर्माण सम्झौता गरिएको थियो।
२०७८ असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ४० प्रतिशत मात्रै काम सम्पन्न भएको छ। सडक डिभिजन कार्यालय जनकपुरका प्रमुख दरोगाप्रसाद साहका अनुसार पटक–पटक म्याद थप्दा पनि निर्माण व्यवसायीले अपेक्षित प्रगति नगरेकाले कारबाही प्रक्रिया अघि बढाइएको छ। सोही प्रक्रियाका कारण अहिले निर्माण कार्य रोकिएको उहाँले जानकारी दिनुभयो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले पुरानो साँघुरो पुलका कारण दुर्घटनाको जोखिम उच्च रहेको बताउनुभयो। ट्राफिक सङ्केत राखिए पनि चालकको असावधानीका कारण दुर्घटना पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको उहाँको भनाइ छ।
नेपाल–भारत व्यापार, जनकपुरधामको धार्मिक पर्यटन तथा मधेस प्रदेशको यातायात सञ्जालका दृष्टिले महत्वपूर्ण मानिने यस सडकखण्डमा पुल निर्माणमा भएको ढिलाइले आवागमनसँगै स्थानीय आर्थिक गतिविधिमा पनि असर परेको छ। स्थानीयवासी तथा व्यवसायीले राष्ट्रिय महत्वको यस आयोजना शीघ्र सम्पन्न गरी बसही खोलाको नयाँ पुल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।

