अविरल वर्षाले विभिन्न राजमार्ग प्रभावित, कतै पहिरो त कतै हिलोले यातायात अवरुद्ध

काठमाडौँ, साउन – लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा पहिरो, ढुङ्गा खस्ने र हिलो जम्ने समस्या बढेपछि यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार मकवानपुरको कान्तिलोकपथ भने पहिरो हटाएपछि बिहीबार बिहानदेखि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ। बकैया गाउँपालिका–११ घट्टेपाखा क्षेत्रमा बुधबार साँझ सडकमाथिबाट पहिरो खसेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।

यद्यपि वर्षायामको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ।

यता, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग हिलोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ। यस्तै, अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ अन्तर्गत सालझन्डी–ढोरपाटन सडकखण्डमा ढुङ्गा खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

उता, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलोस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण अवरुद्ध भएको छ। नेपाल प्रहरीका अनुसार सडक विभागसहित सम्बन्धित निकायले अवरुद्ध सडक खुलाउने प्रयास जारी राखेका छन्। प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक अवरोधको जोखिम उच्च रहेकाले यात्रा गर्दा सतर्कता अपनाउन र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै गन्तव्यतर्फ प्रस्थान गर्न आग्रह गरेको छ।

Facebook Comments Box