सीमा विवादको बिषयलाई जिम्मेवारीपूर्ण ढंगले संवाद गरौंः भारत

काठमाडौं, १९ चैत – भारतले नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतीकरण गर्न नहुने बताएको छ। उसले सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवादमा बस्नुपर्ने समेत बताएको छ।

प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई सीमा समस्या हल गर्न संयुक्त संयन्त्र गठनका लागि आग्रह गरेको दुई घण्टापछि भारतीय बिदेशमन्त्रालयले सीमा विवादको बिषयमा आफ्नो धारणा बाहिर ल्याएको हो।

प्रधानमन्त्री देउवाको भारत भ्रमण अन्र्तगत अहिलेसम्म भएका छलफलबारे जानकारी दिन भारतीय बिदेश मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बिदेशसचिव हर्ष श्रृङ्गलाले सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्ने बताएका हुन्।

‘नेपालका प्रधानमन्त्रीले आज भएको संयुक्त पत्रकार सम्मेलनमा पनि सीमा समस्याको कुरा राख्नुभयो। आज प्रधानमन्त्रीस्तरमा भएको वार्तामा सीमाबारे संक्षिप्त कुरा भए। हाम्रा दुईदेशबीच एउटा सामान्य समझदारी के भएको छ भने सीमा विवाद हल गर्न जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्छ र यसलाई राजनीतिकरण गरिनुहुंदैन’ भारतीय बिदेशसचिव श्रृङ्गलाले भने।

उनले सीमा र सुरक्षा लगायतका बिषयमा वार्ता र संवादका आवश्यक रहेको भारतको पुरानै धारणा दोहोर्याए। पत्रकारको प्रश्नको जवाफ दिने क्रममा सीमा समस्याबारे भारतीय बिदेश सचिवले थपे ‘छिमेकीहरुबीच मिल्न बाँकी बिषय थुप्रै हुनसक्छन् सीमा लगायत।

पहिले भारतसंगका सीमा विवाद हामीले सौहद्रापूर्ण ढंगले समाधान गरेकै थियौँ। त्यसकारण जिम्मेवारीपूर्ण ढंगले संवाद हुनु महत्वपूर्ण छ। त्यो आवश्यक छ।’ यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवासंगको संयुक्त पत्रकार सम्मेलनमा सीमा विवादबारे केही बोलेका थिएनन्।

भारतले साँढे दुई बर्षअघि नेपाली भूमि कालापानी क्षेत्र समेटेर राजनीतिक नक्सा ल्याएको थियो। त्यसको ६ महिनापछि नेपालले पनि कालापानीलाई राजनीतिक नक्सामा समेट्यो। त्यसयता नेपालले सीमा समस्या हल गर्न भारतलाई पटक—पटक आग्रह गर्यो। तर भारतले सीमा वार्ताका लागि रुची देखाएन। बरु उसले कालापानीमा सैन्य तनाथी जारी राखेको छ। अतिक्रमित भूभाग भारतले आफ्नो भएको दाबी गरिआएको छ।

अर्कोतिर यही दुई बर्षको बीचमा भारतले कालापानी नजिकको लिपुलेक क्षेत्र हुंदै चीनको तिब्बत जाने सडक निर्माण गरिसकेको छ। त्यसप्रति नेपालले बिरोध जनाएपनि भारतले आफ्नो अडान छोडेको छैन।

आज आएर प्रधानमन्त्री देउवाको भारत भ्रमणमा चाहीँ भारतले जिम्मेवारीपूर्ण ढंगले संवाद हुनुपर्ने सर्त नेपालसमक्ष राखेको छ। उसले नेपालले राजनीतिक नक्सा जारी भएकोमा असन्तुष्ठि दर्शाएको छ। सीमाका बिषयमा राजनीतिकरण गर्न नहुने भारतीय तर्क नेपालको चुच्चे नक्साप्रति लक्ष्यित देखिएको छ।

भारतीय बिदेश मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भारतीय बिदेश सचिव श्रृङ्गलाले देउवाको भ्रमणमा नेपाल भारतबीचका उर्जा, सीमापार कनेक्टिभीटि, राजनीतिक र आर्थिक सहकार्यका सबै बिषयमा रचनात्मक र फलदायी वार्ता भएको बताए।

Facebook Comments Box