मुस्ताङमा भन्सार छलीका साढे चार लाख रुपैयाँ बराबरका सामान बरामद

मुस्ताङ, ३२ असार – मुस्ताङ प्रहरीले भन्सार छली गरी पोखरातर्फ लैजाँदै गरिएको करिब रु चार लाख ३५ हजार ८०० बराबरका अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित सवारी जाँचका क्रममा उक्त सामान बरामद गरेको हो।

प्रहरी निरीक्षक ईश्वर महतका अनुसार नेपाल–चीनको कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिप जाँच गर्दा भन्सार प्रज्ञापनपत्र तथा आवश्यक कागजातविनाका सामान फेला परेका थिए। प्रहरीले जिप, चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

बरामद गरिएका सामानमा जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर, टी–सर्टलगायतका सामग्री रहेका छन्। अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले सामान ल्याउने व्यक्तिको नाम भने सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box