२५ जनाको ज्यान लिइसकेको ‘ध्रुवे’ हात्तीलाई रेडियो कलर जडान

चितवन, ३२ साउन – चितवन राष्ट्रिय निकुञ्जले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि जङ्गली हात्ती ‘ध्रुवे’लाई स्याटेलाइट रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको उक्त हात्तीलाई बेहोस बनाउने औषधि (डार्ट) प्रयोग गरी रेडियो कलर लगाएर पुनः जंगलमा छाडिएको हो। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीको घाँटीमा स्याटेलाइट रेडियो कलर जडान गरिनुका साथै दाह्रा काटेर सुरक्षित रूपमा जंगलमा छाडिएको छ।

उहाँका अनुसार रेडियो कलर जडानपछि जिपिएस ट्र्याकिङमार्फत हात्तीको गतिविधि वास्तविक समयमा निगरानी गर्न सकिनेछ। यसबाट हात्तीको अवस्थाबारे छिटो जानकारी प्राप्त हुने र मानव बस्ती नजिक पुग्न थालेमा समयमै सतर्कता अपनाउन सहज हुने अपेक्षा गरिएको छ। निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूको संयुक्त टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो।

गत असार २० गते भरतपुर महानगरपालिका–२३ मा ‘ध्रुवे’को आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले उक्त हात्तीको खोजी तथा निगरानीलाई तीव्र बनाएको थियो। निकुञ्जका अनुसार प्रतिकूल मौसम र घना झाडीका कारण हात्तीलाई नियन्त्रणमा लिन केही समय लागेको थियो। निकुञ्जले स्थानीय बासिन्दालाई जङ्गली हात्तीको गतिविधिप्रति सतर्क रहन, निकुञ्जले जारी गर्ने सूचनाको पालना गर्न तथा हात्ती देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ।

Facebook Comments Box