बसाइँसराइले रित्तिँदै लमजुङका गाउँ, बाँझिँदै खेतबारी र हराउँदै बस्तीको चहलपहल
लमजुङ, ३२ असार – रोजगारी, शिक्षा र स्वास्थ्य सेवाको खोजीमा युवा पुस्ता सहर तथा विदेश पलायन हुन थालेपछि लमजुङका धेरै ग्रामीण बस्ती सुनसान बन्दै गएका छन्। एक समय चहलपहलले भरिएका गाउँ अहिले खाली घर, बाँझो जमिन र घट्दो सामाजिक गतिविधिको चित्रमा सीमित हुन थालेका छन्। गाउँमा सडक, विद्युत्, खानेपानी र सञ्चारजस्ता आधारभूत सुविधा पुगे पनि जनशक्ति अभावका कारण अधिकांश बस्ती रित्तिँदै गएका छन्।
यसको असर घर र जमिनमा मात्र नभई कृषि, स्थानीय अर्थतन्त्र, सामाजिक सम्बन्ध, संस्कृति तथा परम्परागत सीप संरक्षणमा समेत परेको छ। दोर्दी गाउँपालिका–३ श्रीमञ्ज्याङको पुरानो नेवार बस्ती यसको एउटा उदाहरण हो। केही दशकअघि बाक्लो बस्ती रहेको क्षेत्रमा अहिले धेरै घर खाली छन् भने कतिपय जीर्ण अवस्थामा पुगेका छन्।
स्थानीय ८५ वर्षीय शेरबहादुर श्रेष्ठका अनुसार पहिले गाउँमा बिहानदेखि साँझसम्म चहलपहल हुन्थ्यो। चाडपर्व, मेलापात र सामाजिक काममा सबै गाउँलेको सक्रिय सहभागिता रहने गरे पनि अहिले अधिकांश मानिस गाउँ छाडेपछि त्यो वातावरण हराउँदै गएको उहाँ बताउनुहुन्छ। राइनास नगरपालिका–८ हराबोटको सिक्रा गाउँको अवस्था पनि उस्तै छ। स्थानीय लालमाया श्रेष्ठका अनुसार सुविधा बढे पनि गाउँमा बसोबास गर्ने मानिसको सङ्ख्या निरन्तर घटिरहेको छ।
बसाइँसराइको प्रत्यक्ष असर कृषि क्षेत्रमा पनि देखिएको छ। कृषि विकास कार्यालय लमजुङका सूचना अधिकारी सरोज थापाका अनुसार युवा जनशक्ति बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ। यसको परिणामस्वरूप खेतीयोग्य जमिन बाँझो रहने, उत्पादन घट्ने तथा रैथाने बाली र परम्परागत कृषि ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न कठिन भइरहेको उहाँले बताउनुभयो।
कार्यालयका तथ्याङ्कअनुसार जिल्लामा ६१ हजार ८१९ हेक्टर खेतीयोग्य जमिनमध्ये ४५ हजार ७५७ हेक्टरमा मात्रै खेती भइरहेको छ भने १६ हजार ६२ हेक्टर जमिन बाँझो रहेको छ। सुन्दरबजार नगरपालिका–६ को पुरानो दिही गाउँ पनि बसाइँसराइबाट प्रभावित बनेको छ। स्थानीय मदन रेग्मीका अनुसार कुनै समय करिब ५० घरधुरी रहेको गाउँ अहिले निकै पातलिएको छ। गाउँमा जनसङ्ख्या घटेसँगै खेतीपाती, स्थानीय संस्कृति र सामाजिक गतिविधिमा समेत कमी आएको उहाँको भनाइ छ।
जिल्ला समन्वय समिति लमजुङकी उपप्रमुख बुनाकुमारी रिमालले गाउँ रित्तिनु सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा गम्भीर चुनौती भएको बताउनुभयो। युवा पुस्ता गाउँमा नहुँदा भाषा, संस्कार, संस्कृति र परम्परागत ज्ञानको पुस्तान्तरण प्रभावित भइरहेको उहाँको भनाइ छ। दोर्दी गाउँपालिकाका उपाध्यक्ष बिच्छबहादुर गुरुङले गाउँमा मानिस टिकाइराख्न आयआर्जनका अवसर विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसका लागि गाउँपालिकाले कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, घरबास सञ्चालन तथा स्थानीय उत्पादनलाई बजारसँग जोड्ने कार्यक्रम अघि बढाएको उहाँले जानकारी दिनुभयो। कफी, खुर्सानीलगायत नगदे बालीमार्फत किसानको आम्दानी बढाउने प्रयास भइरहेको पनि उहाँले बताउनुभयो। दोर्दी क्षेत्रमा रहेका इलामपोखरी, दूधपोखरी, मेमेपोखरी र बारापोखरीजस्ता धार्मिक तथा पर्यटकीय स्थललाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने योजना पनि अघि बढाइएको छ।
राष्ट्रिय जनगणना २०७८ ले देशभर आन्तरिक बसाइँसराइको प्रवृत्ति बढ्दो रहेको देखाएको छ। यसको प्रभाव लमजुङका ग्रामीण बस्तीमा स्पष्ट रूपमा देखिएको छ। सरोकारवालाका अनुसार गाउँ रित्तिनु केवल खाली घरको समस्या नभई कृषि, संस्कृति, स्थानीय अर्थतन्त्र र सामाजिक संरचनासँग जोडिएको विषय हो।
उनीहरूका अनुसार गाउँको मौलिकता जोगाउन कृषि आधुनिकीकरण, पर्यटन विकास, स्थानीय उत्पादनको प्रवर्द्धन र रोजगारी सिर्जनामा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक छ। अन्यथा, अहिले रित्तिँदै गएका गाउँहरू भविष्यमा सम्झनामा मात्र सीमित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

