साउन १ देखि हेटौँडामा नदीजन्य पदार्थको बिक्री–वितरण र ढुवानी रोक
हेटौँडा, ३१ असार – हेटौँडा उपमहानगरपालिकाले साउन १ गतेदेखि नदीजन्य पदार्थको बिक्री–वितरण तथा ओसारपसारमा रोक लगाएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनी व्यवस्थाअनुसार प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र उत्पादनको वार्षिक मौज्दात तथा खरिद–बिक्रीको विवरण सम्बन्धित स्थानीय तहमा बुझाउनुपर्ने व्यवस्था रहेको जनाएको छ।
सोही व्यवस्थाअनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालनमा रहेका क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगहरूले आर्थिक वर्ष २०८२/८३ को कारोबार विवरणसहित अन्तिम मौज्दात प्रमाणित गरी आर्थिक वर्ष २०८३/८४ को कारोबार सुरु गर्नुपर्नेछ। यसका लागि उपमहानगरपालिकाले २०८३ असार ३२ गते राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै फर्म, उद्योग तथा कम्पनीलाई नदीजन्य पदार्थको बिक्री–वितरण र ढुवानी कार्य पूर्ण रूपमा बन्द गर्न निर्देशन दिएको छ।
उपमहानगरपालिकाले सम्बन्धित उद्योग तथा व्यवसायीलाई तोकिएको प्रक्रिया पूरा गरी मौज्दात विवरण प्रमाणित गर्न तथा अर्को सूचना जारी नभएसम्म नदीजन्य पदार्थको कारोबार नगर्न आग्रह गरेको छ।

