पाँच वर्ष बित्दा पनि अस्थायी शिविरमै हुप्सेकोटका पहिरो विस्थापित

नवलपरासी (बर्दघाट सुस्तापूर्व), ३१ असार – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरोपीडित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य छन्। २०७८ असार २४ गते गएको भीषण पहिरोले बस्ती नै विस्थापित गरेपछि सुरक्षित स्थानमा सारिएका परिवारको स्थायी पुनःस्थापना अझै हुन सकेको छैन।

पहिरोपछि सुरुमा विद्यालय र सामुदायिक भवनमा आश्रय लिएका उनीहरू अहिले हुप्सेकोट–१ जुकेपानीस्थित सानो चौरमा निर्माण गरिएका अस्थायी टहरामा बस्दै आएका छन्। ब्लक र टिनले बनेका साँघुरा कोठा, सीमित खुला स्थान र आधारभूत पूर्वाधारको अभावबीच उनीहरूको दैनिकी बितिरहेको छ।

विस्थापितहरूका अनुसार स्थायी बसोबासको प्रतीक्षामा बितेका पाँच वर्षले उनीहरूमा निराशा बढाएको छ। दैनिक ज्याला–मजदुरी गरेर गुजारा चलाइरहेका परिवारहरू वर्षायाम सुरु भएसँगै फेरि पानी चुहिने, सर्पको जोखिम र असुरक्षित बसोबासको चिन्तामा रात बिताउन बाध्य छन्।

स्थानीय तिलबहादुर सोमै मगरले केही समयका लागि भनेर बनाइएको शिविरमै पाँच वर्ष बितिसक्दा स्थायी घर पाउने आशा क्षीण हुँदै गएको बताए। उनका अनुसार वर्षा सुरु हुनेबित्तिकै बालबालिका, ज्येष्ठ नागरिक र महिलाको सुरक्षालाई लिएर थप चिन्ता हुने गरेको छ।पहिरोअघि अधिकांश परिवारसँग एकदेखि तीन बिघासम्म खेतीयोग्य जमिन, आफ्नै घर तथा पशुपालनको आधार थियो। तर पहिरोले घरसँगै उनीहरूको जीविकोपार्जनको मुख्य आधार पनि बगाएपछि अहिले अधिकांश परिवार दैनिक मजदुरीमै निर्भर छन्।

स्थानीय दिलमाया सोमै मगरले पहिरोको त्रास अझै मनबाट हट्न नसकेको बताउँदै पहिरोपछि अस्थायी शिविरमै सुत्केरी भएको र त्यहीँ जन्मिएको छोरा अहिले पाँच वर्ष पुग्दासमेत स्थायी घरको टुंगो नलागेको गुनासो गरिन्। खेमबहादुर सोमै मगरले तीनै तहका सरकारबीच समन्वय अभाव हुँदा विस्थापितहरूले वर्षौंदेखि सास्ती भोग्नुपरेको बताए। सरकारबाट प्रक्रिया अघि बढेको भनिए पनि आफूहरूको जीवन भने अझै अस्थायी टहरामै सीमित रहेको उनले बताए।

हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेका अनुसार स्थायी पुनःस्थापनाका लागि आवश्यक सबै प्रक्रिया गाउँपालिकाले वर्षौँअघि नै पूरा गरिसकेको छ। तर गृह मन्त्रालयबाट आवश्यक निर्णय नआएका कारण पुनःस्थापनाको काम अघि बढ्न नसकेको उनले जानकारी दिइन्।

उनका अनुसार मन्त्रालयबाट स्वीकृति प्राप्त हुनेबित्तिकै स्थायी आवास निर्माण प्रक्रिया सुरु गर्न गाउँपालिका तयार रहेको छ। साथै हुप्सेकोट–५ र ६ का अधिकांश पहाडी बस्ती अहिले पनि पहिरो तथा भूक्षयको उच्च जोखिममा रहेकाले मनसुन सुरु हुनेबित्तिकै स्थानीयवासी त्रासमा बस्नुपर्ने अवस्था कायम रहेको उनले बताइन्।

Facebook Comments Box