मुग्लिन–नारायणगढ सडकखण्डमा दुईतर्फी आवागमन बन्द

काठमाडौँ, १८ असोज – लगातार वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डमा पर्ने तुइन खोलामा ढुंगा खस्ने क्रम नरोकिएपछि दुईतर्फी सवारी आवागमन पूर्णरूपमा बन्द गरिएको छ।

भरतपुर सडक डिभिजन कार्यालयका अनुसार ढुंगा झर्ने प्रक्रिया रोकिन नसकेकाले पहिरो पन्छाउने कार्य अत्यन्त कठिन भएको छ। भारी वर्षा भइरहेकोले सो खण्डमा अझै पहिरोको उच्च जोखिम रहेको कार्यालयले जनाएको छ।

अति आवश्यकबाहेक यात्रामा ननिस्कन आग्रह गर्दै कार्यालयले यात्रा गर्नैपर्ने अवस्थामा सुरक्षा निकायसँग समन्वय गर्न सवारी चालक र यात्रुलाई अनुरोध गरेको छ। सुरक्षाको दृष्टिकोणले हाल सडकमा रहेका सवारीसाधनलाई सुरक्षा निकायमार्फत रोकिएको छ।

अविरल वर्षाका कारण देशभर जनजीवन प्रभावित बनेको छ। विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। यसबीच सरकारले भोलि र पर्सि सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ। विभागका अनुसार मनसुन अझै कम्तीमा दुई दिन सक्रिय रहने अनुमान गरिएको छ।

Facebook Comments Box