अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा
काठमाडौं, २८ असार – इंग्ल्यान्ड फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको मियामी स्टेडियममा सम्पन्न क्वार्टरफाइनलमा नर्वेलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ९३औँ मिनेटमा जेड बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई रोमाञ्चक जित दिलाए।
यसअघि खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा बेलिंघमले गोल फर्काउँदै इंग्ल्यान्डलाई १–१ को बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ बेलिंघमले निर्णायक गोल गर्दै इंग्ल्यान्डको सेमिफाइनल यात्रा सुनिश्चित गरे।
योसँगै इंग्ल्यान्ड चौथोपटक विश्वकपको सेमिफाइनलमा पुगेको छ। इंग्ल्यान्डले सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो भने सन् १९९० र २०१८ मा पनि सेमिफाइनल खेलेको थियो। सन् २०२२ को विश्वकपमा भने इंग्ल्यान्ड क्वार्टरफाइनलबाटै बाहिरिएको थियो। अब इंग्ल्यान्डले फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबीच हुने अन्तिम क्वार्टरफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

