एमबाप्पे र डेम्बेलेको गोलमा फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा
काठमाडौं, २६ असार – कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा फ्रान्सले दोस्रो हाफमा दुवै गोल गर्दै सहज जित निकालेको हो।
पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्ने अवसर पाए पनि एमबाप्पे सफल हुन सकेनन्। तर दोस्रो हाफमा उनले खेलको ६०औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा उसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता २–० बनाए।त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि फ्रान्स विजयी हुँदै लगातार तेस्रो विश्वकपको सेमिफाइनलमा पुग्न सफल भयो।
फ्रान्सले यसअघि सन् २०१८ मा विश्वकपको उपाधि जितेको थियो भने २०२२ मा उपविजेतामा सीमित भएको थियो। अब फ्रान्सले फाइनल प्रवेशका लागि सेमिफाइनलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

