इरानमा अमेरिकी हवाई आक्रमणपछि कतार, बहराइन र कुवेतमा उच्च सुरक्षा सतर्कता

दोहा, २५ असार – इरानमा अमेरिकाले गरेको नयाँ चरणको हवाई आक्रमणपछि कतार, बहराइन र कुवेतले उच्च सुरक्षा सतर्कता अपनाएका छन्। कतारले आपतकालीन सुरक्षा चेतावनी जारी गरेको छ भने बहराइन र कुवेतमा चेतावनीका साइरन बजाइएको छ। कतारको गृह मन्त्रालयले नागरिक तथा बासिन्दालाई सुरक्षा जोखिम उच्च रहेको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र आधिकारिक निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।

साथै झ्याल, ढोका तथा सिसाका संरचनाबाट टाढा रहन पनि अनुरोध गरिएको छ। बहराइनको गृह मन्त्रालयले पनि साइरन बजाइएको पुष्टि गर्दै नागरिकलाई संयम अपनाउन र नजिकको सुरक्षित स्थानमा जान निर्देशन दिएको छ। कुवेतले पनि सुरक्षा सतर्कताका रूपमा चेतावनीका साइरन सक्रिय पारिएको जनाएको छ।

बुधबार राति अमेरिकाले दक्षिण तथा दक्षिणपूर्वी इरानका विभिन्न स्थानमा नयाँ हवाई आक्रमण गरेपछि खाडी क्षेत्रका देशहरूले सुरक्षा व्यवस्था कडा बनाएका हुन्। अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम)ले होर्मुज जलडमरूमध्यमा समुद्री आवागमनलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ। यससँगै विश्वकै महत्वपूर्ण इन्धन ढुवानी मार्ग मानिने होर्मुज जलडमरूमध्य र आसपासका खाडी मुलुकमा सुरक्षा चिन्ता थप बढेको छ।

Facebook Comments Box