उपत्यका र काभ्रेमा अझै कायम बर्डफ्लुको जोखिम, देशका अधिकांश जिल्लामा सङ्क्रमण नियन्त्रण
ललितपुर, २४ असार – देशका अधिकांश जिल्लामा बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने संक्रमणको जोखिम अझै कायम रहेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा बर्डफ्लु पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ। तर काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकमा सङ्क्रमण नियन्त्रणका प्रयास जारी छन्।
विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहेको छ भने काभ्रेपलाञ्चोकमा संक्रमण तीव्र रूपमा फैलिरहेको छ। सङ्क्रमण नियन्त्रणका लागि हालसम्म देशभर सात लाख ५४ हजार ५०० वटा पन्छी, १० लाख ९१ हजार ३०३ वटा अण्डा तथा दुई लाख ४३ हजार ६३५ किलोग्राम दाना नष्ट गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ।
तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा मात्रै दुई लाख ८६ हजार २७७ वटा पन्छी, एक लाख ७९ हजार ६४ वटा अण्डा तथा ७४ हजार किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ। डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय तथा स्थानीय सरकारसँगको समन्वयमा प्रतिवेदन तयार गरिएको छ।
सोही प्रतिवेदनका आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने, जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने तथा बर्डफ्लु नियन्त्रणका अन्य आवश्यक उपाय कार्यान्वयन भइरहेको विभागले जनाएको छ।

