नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाँडसहित विभिन्न अभियुक्त राज्यविरुद्धको कसुरमा दोषी ठहर
काठमाडौँ, २४ असार – काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।
अदालतले पूर्वगृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय सचिव केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी (विक्रम), आङटावा शेर्पा तथा शरणार्थी नेता टेकनाथ रिजाललाई पनि राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ।
फैसलाअनुसार उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने योजनामा संलग्न भई राज्यविरुद्धको कसुर गरेका हुन्। अदालतले केही अभियुक्तलाई राज्यविरुद्धको कसुरसँगै एकीकृत कसुरमा पनि दोषी ठहर गरेको उल्लेख गरेको छ।यस्तै, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई राज्यविरुद्धको कसुरमा मतियार (सहयोगी) को भूमिकामा दोषी ठहर गरिएको छ।
लिखत किर्ते सम्बन्धी कसुरमा भने टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारी मात्र दोषी ठहर भएका छन्। अन्य अभियुक्तहरूले यस आरोपबाट सफाइ पाएका छन्। संगठित अपराधतर्फ केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई प्रमुख कसुरदारका रूपमा दोषी ठहर गरिएको अदालतको फैसलामा उल्लेख छ। दोषी ठहर भएका अभियुक्तहरूलाई हुने सजाय भने अदालतले आगामी पेसीमा निर्धारण गर्नेछ।

