मनसुन सक्रिय, आज चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना सतर्कता अपनाउन आग्रह
काठमाडौं, १९ असार – देशभर मनसुन सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ।
रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी र तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

