वर्षा सुरु भएसँगै धाप्लाङघाटवासी बाढीको त्रासमा, तटबन्ध र पुल निर्माणको पर्खाइ
खोटाङ, १६ असार – वर्षायाम सुरु भएसँगै खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटका स्थानीय फेरि बाढीको त्रासमा रात बिताउन बाध्य भएका छन्। सुनकोशी नदीको निरन्तर कटानका कारण बस्ती जोखिममा परेपछि स्थानीयमा चिन्ता बढेको हो।खोटाङ र उदयपुरको सीमामा पर्ने धाप्लाङघाट बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिकाका बासिन्दाको मुख्य व्यापारिक केन्द्रका रूपमा परिचित छ।
यहाँ १८ परिवार वर्षौंदेखि बसोबास गर्दै आएका छन्। अधिकांशले होटल, पसल सञ्चालन गर्नुका साथै व्यावसायिक कृषि र पशुपालन गर्दै आएका छन्। स्थानीयका अनुसार सुनकोशी नदीले बस्ती आसपासको जमिन निरन्तर कटान गरिरहेको छ। विशेषगरी २०८१ असोज १२ गते आएको भीषण बाढीपछि कटान तीव्र बनेको छ। स्थानीय गणेशबहादुर मगरका अनुसार त्यसयता करिब ३० मिटर जमिन बगिसकेको छ र ठूलो बाढी आउँदा सबै परिवार एकै ठाउँमा भेला भएर रात बिताउने अवस्था रहेको छ।
बलौटे माटो भएको क्षेत्रमा नदी कटानपछि करिब २५ मिटर अग्लो भीर बनेको छ। वर्षायाम मात्र होइन, अन्य समयमा पनि सानातिना पहिरो झरिरहने भएकाले नदी किनारसम्म पुग्नसमेत जोखिमपूर्ण बनेको स्थानीयको भनाइ छ। बस्ती संरक्षणका लागि यस आर्थिक वर्ष संघीय सरकारले एक करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जाराले जानकारी दिनुभयो। उहाँका अनुसार यो बहुवर्षीय योजना भएकाले छिट्टै ठेक्का प्रक्रिया पूरा गरी तटबन्ध निर्माण सुरु गरिनेछ।
स्थानीयले भने दीर्घकालीन समाधानका लागि नदी किनारमा सिमेन्टसहितको मेसिनरी तटबन्ध निर्माण गर्नुपर्ने माग गरेका छन्। उनीहरू सरकारले उपलब्ध गराएको बजेटले बस्ती संरक्षणमा राहत पुग्ने अपेक्षामा छन्। यसैबीच, धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको काम पनि पछिल्लो समय अघि बढेको छ। २०७३ असार ३० गते ठेक्का सम्झौता भएको उक्त पुलको २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको थियो। २०७६ मै सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजना वर्षौँसम्म अलपत्र परेको थियो।
संघीय सरकारको २१ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको ठेक्का स्वच्छन्द–रसुवा–पप्पु जेभीले लिएको हो। हालसम्म छमध्ये चारवटा पिलर निर्माण सम्पन्न भएका छन् भने थपिएको समयसीमाअनुसार २०८४ जेठ १९ गतेभित्र निर्माण सक्नुपर्नेछ। हाल धाप्लाङघाटमा दुवैतर्फ सडक पुगे पनि पक्की पुल नहुँदा ठूला सवारीसाधन आवतजावत गर्न सक्दैनन्। मोटरसाइकल भने झोलुङ्गे पुलमार्फत वारपार हुने गरेका छन्।
बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भूबलराज राईले पुल नहुँदा ढुवानी महँगो हुनुका साथै स्थानीय उत्पादन बाहिर पठाउन कठिन भएको बताउनुभयो। उहाँले पुल निर्माणले गति लिएपछि स्थानीयमा आशा बढेको उल्लेख गर्दै तोकिएको समयमै आयोजना सम्पन्न गराउन सम्बन्धित निकायले निरन्तर निगरानी गर्नुपर्नेमा जोड दिनुभयो।
पुल निर्माण सम्पन्न भए खोटाङका बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही क्षेत्रका स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ। तर, वर्षायाममा आउने बाढी र कामदार अभावका कारण निर्माण कार्य फेरि प्रभावित हुन सक्ने चिन्ता पनि स्थानीयले व्यक्त गरेका छन्।

