आज देशका धेरै स्थानमा वर्षाको सम्भावना, एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने
काठमाडौं, १६ असार – आज दिउँसोदेखि रातिसम्म काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार हाल बिहानैदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली प्रदेशमा बाक्लो बादल लागेको अवस्था छ।
महाशाखाले आज बिहान ८ बजे सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थान र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभाग तथा सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।त्यसैगरी, देशका पहाडी तथा तराईका धेरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ। मधेस तथा बागमती र कर्णालीका पहाडी क्षेत्रका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
मौसमविद् दाहालका अनुसार काठमाडौं उपत्यकामा आज अपराह्न वा साँझदेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। उनका अनुसार बिहान उपत्यकामा छिटफुट वर्षा भए पनि अहिले रोकिएको छ। दिनभर घाम र बादल पालैपालो लाग्ने अवस्था रहने तथा अपराह्नपछि वर्षा सक्रिय हुने सम्भावना रहेको उनले बताए।

