सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोग किशोरकिशोरीलाई आइतबारदेखि फाइजर खोप अभियान सञ्चालन गर्दै
काठमाडौं, २७ कात्तिक – सरकारले १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोरकिशोरीलाई लक्षित गरेर आइतबारदेखि फाइजर बायोएनटेक खोप अभियान सञ्चालन गर्दै छ। कोरोना भाइरसविरुद्ध फाइजर बायोएनटेकको ५० हजार डोज खोप १२ देखि १७ वर्ष उमेर समूहका नागरिकलाई लगाउन लागिएको सरकारले जनाएको छ।
यो खोपको पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म सरकारले तोकेका देशभरका विभिन्न २४ अस्पतालमा उपलब्ध हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी ५ देखि ७ मंसिरसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगी र १२–१७ उमेर समूहकालाई पनि यो खोप लगाउने तयारी छ। खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनभित्र दिनुपर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाइने वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले जानकारी दिए। यो खोप १२ वर्षमाथिका दीर्घरोगीहरूलाई पहिलो प्राथमिकतामा राखेर दिइने छ। १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई यो खोप दिने तयारी छ।
‘फाइजर–बायोएनटेक खोप १२ वर्षदेखि माथिको जनसङ्ख्यालाई दिन मिल्ने भएकाले १२–१७ वर्षका व्यक्तिहरूलाई यो खोप दिने तयारी गरेका छौँ,’ शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा दाहालले भने, ‘यसको पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म तोकिएका दीर्घरोगीहरूका लागि र खोप बाँकी भएमा मङ्सिर ५ देखि ७ गतेसम्म खोप लगाउन बाँकी रहेका दीर्घरोगीहरूलाई प्राथमिकतामा राखी १२–१७ उमेर समूहका व्यक्तिहरूलाई लगाइनेछ।’
खोपको दोस्रो मात्रा पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि अर्थात् मङ्सिर २७ देखि पुस २ गतेसम्म दिइने उनले बताए।
यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भएका, मिर्गौला फेरेका, डायलासिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको बिरामी भएर औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका दीर्घरोगीहरूलाई लगाउने तयारी छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले यो खोपको माग धेरै भए पनि पहिलो प्राथमिकतामा दीर्घरोगीहरु रहेका बताए। यो खोप दीर्घ रोग भएका तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ।


