केही क्षेत्रमा मनसुन विस्तार हुने सम्भावना, कोशीमा भारी वर्षाको चेतावनी
काठमाडौं, १३ असार – देशका अधिकांश क्षेत्रमा मनसुन सक्रिय बन्दै गएको छ भने आगामी चारदेखि पाँच दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी भूभागमा पनि मनसुन फैलिने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र तथा गण्डकी प्रदेशका केही र लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुन वायुको प्रभाव रहेको छ। बाँकी क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ।
हाल देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ। महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रका साथै मधेश र कोशी प्रदेशको तराईमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ। यस्तै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिँदै बाढी, पहिरो, डुबान तथा यातायात प्रभावित हुन सक्ने जोखिमप्रति सतर्क रहन सबैलाई आग्रह गरेको छ।

