दक्षिण अफ्रिका पहिलोपटक विश्वकपको नकआउट चरणमा
काठमाडौँ, ११ असार – दक्षिण अफ्रिकाले इतिहास रच्दै पहिलोपटक फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गर्दै दक्षिण अफ्रिका अन्तिम १६ मा प्रवेश गर्न सफल भएको हो। दक्षिण अफ्रिकाको जितमा थापेलो मासेको नायक बने। उनले खेलको ६३औँ मिनेटमा गरेको एकमात्र गोल नै टोलीको जितका लागि निर्णायक साबित भयो।
यो दक्षिण अफ्रिकाको विश्वकप इतिहासमा विशेष उपलब्धि हो। चौथोपटक विश्वकपमा सहभागी भएको दक्षिण अफ्रिकाले यसअघि सन् १९९८, २००२ र २०१० संस्करणमा समूह चरण पार गर्न सकेको थिएन। यसपटक भने टोलीले पहिलोपटक नकआउट चरणमा स्थान बनाउन सफल भएको छ। दक्षिण अफ्रिकाले तीन खेलबाट चार अङ्क जोड्दै समूह ‘ए’ को उपविजेताका रूपमा अघिल्लो चरणमा प्रवेश गरेको हो।
सहआयोजक मेक्सिकोले भने समूह चरणका तीनै खेल जित्दै ९ अङ्कसहित समूह विजेता बन्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। यससँगै समूह ‘ए’ बाट मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश गरेका छन्।

