रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

भोजपुर, ८ भदौ – भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले रायो र मूलाखेती प्रवर्द्धन गर्न किसानले उत्पादन गर्ने कृषि उपजको खरिद पूर्वसम्झौता गरेको छ । किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्ने उद्देश्यले गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसमेत गरेको छ ।

गाउँपालिकाले सिद्धकाली एग्रो प्रालि भोजपुरसँग गरेको सम्झौताअनुसार न्यूनतम समर्थन मूल्य निर्धारण गरी पाँच सय टन रायो र पाँच सय टन मूला खरिद गरिने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । उत्पादन गर्नुअघि नै बजार सुनिश्चित भएपछि किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले किसानलाई उन्नत बीउ उपलब्ध गराउनुका साथै खेती प्रविधिबारे प्राविधिक सहयोग गर्ने जनाएको छ । उत्पादन वृद्धि गरी किसानको आम्दानी बढाउने तथा कृषि उपजले उचित मूल्य नपाउने र बजारको अभाव हुने समस्या समाधान गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा विकास गर्न उत्पादनमुखी कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । रायो र मूलाको व्यावसायिक उत्पादन बढाएर किसानको आम्दानी वृद्धि गर्ने तथा बाह्य क्षेत्रबाट आउने तरकारीमा निर्भरता घटाउने गाउँपालिकाको लक्ष्य रहेको छ ।

Facebook Comments Box