चिसोकै कारण जाजरकोटमा अहिलेसम्म १३ जनाको मृत्यु

काठमाडौँ, १० मङ्सिर – बस्ने घर भूकम्पका कारण भत्किएपछि जाजरकोटमा चिसोले एकपछि अर्काे भूकम्पपीडितले ज्यान गुमाइरहेका छन्। कठ्यांग्रिँदो चिसोमा खुला चौरमा त्रिपालको भरमा रात बिताइरहेका भूकम्पपीडितमा स्वास्थ्य समस्याले पनि सताइरहेको छ। चिसोकै कारण जाजरकोटमा अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ।

स्थानीय जनप्रतिनिधिले उपलब्ध गराएको विवरणअनुसार हालसम्म जाजरकोटमा चिसोका कारण छेडागाड नगरपालिका–१३ थानबाडाकी ५६ वर्षीया मनसरी कामी, जुनीचाँदे गाउँपालिका–४, लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, भेरी नगरपालिका–४, तल्याउनका केशव भडेल, भेरी-२ का ८८ वर्षीय धुलेश्वर कार्की तथा एक महिने बालिका निरुता पुनको मृत्यु भएको हो।

यसैगरी चिसोका कारण नलगाड नगरपालिका–४ की ४८ वर्षीया पम्फा रावल, ८४ वर्षीय गोपालबहादुर रावल र वडा नम्बर ८ टापुकी ७० वर्षीया विष्णुकुमारी खत्री, बारेकोट गाउँपालिका बयालाका ६० वर्षीय कर्णवीर विक र बारेकोट–६ ताँसीका ५५ वर्षीय वीरबहादुर विकको पनि मृत्यु भएको स्थानीय जनप्रतिनिधिले जनाएका छन्।

बारेकोट गाउँपालिका–१, रामीडाँडाका ७० वर्षीय डुमे पुन र वडा नम्बर ४ जिरीका नरेन्द्रबहादुर सिंह, कुशे गाउँपालिका–५ की ६५ वर्षीया देवी मल्ल र वडा नम्बर ६ का ५५ वर्षीया गथु शाहीको पनि चिसोका कारण मृत्यु भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्।

गत कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट जाजरकोट र रुकुम-पश्चिममा गरी १५४ जनाको मृत्यु भयो भने हजाराैँ घाइते भए। भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बस्न बाध्य भूकम्पीडितमा बालबालिका, सुत्केरी महिला, अशक्त तथा वृद्धवृद्धा बढी चिसोको मारमा परेका छन्। मृत्यु हुनेमा अधिकांश दीर्घरोगी छन्।

Facebook Comments Box