झापामा साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीमार्फत रासायनिक मल वितरण
झापा, ११ असार – धान रोपाइँको मुख्य सिजन सुरु भएसँगै झापाका किसानलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले वितरणलाई तीव्र बनाएका छन्। साल्ट ट्रेडिङ कर्पोरेसनको झापा शाखाका प्रमुख विष्णु न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा बिक्री वितरणका लागि कुल ७०८.५ मेट्रिक टन रासायनिक मल जिल्लामा भित्र्याइएको छ।
यसमध्ये १७२.५० मेट्रिक टन युरिया, २२६ मेट्रिक टन डीएपी र ४१० मेट्रिक टन पोटास मल रहेको छ। किसानलाई सहज रूपमा मल उपलब्ध गराउन जिल्लाभरका १५१ वटा कृषि सहकारी संस्था तथा कृषि फार्म छनोट गरी तिनै संस्थामार्फत बिक्री वितरण भइरहेको कर्पोरेसनले जनाएको छ। हालसम्म ४२ मेट्रिक टन युरिया, ६२.३० मेट्रिक टन डीएपी र ५.७५ मेट्रिक टन पोटास मल बिक्री भइसकेको शाखा प्रमुख न्यौपानेले जानकारी दिनुभयो।
यसैबीच, कृषि सामग्री कम्पनी लिमिटेडको बिर्तामोड शाखाले पनि जिल्लाका १५ वटै स्थानीय तहमा रासायनिक मल पठाउने कार्य जारी राखेको जनाएको छ। कम्पनीले यसै साता गौरादह नगरपालिका, बुद्धशान्ति गाउँपालिका र कचनकवल गाउँपालिकाका लागि ४६ मेट्रिक टन रासायनिक मल उपलब्ध गराएको छ।
उक्त मल सम्बन्धित सहकारी संस्था र कृषि फार्ममार्फत किसानलाई बिक्री गरिने व्यवस्था गरिएको छ। धान रोपाइँको समयमा विशेषगरी युरिया, डीएपी र पोटास मलको माग उच्च रहने भएकाले आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको जनाइएको छ।

