टीकापुरमा ३४७ बालबालिका कुपोषित, पोषण सुधार अभियान तीव्र

टीकापुर, ११ असार – कैलालीको टीकापुर नगरपालिकामा गरिएको राष्ट्रिय पोषण लेखाजोखा कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको अवस्था चिन्ताजनक देखाएको छ। वैशाख महिनामा गरिएको परीक्षणमा ३४७ जना बालबालिका कुपोषित भेटिएका छन्।तथ्याङ्कअनुसार ७५ जना बालबालिका शीघ्र कुपोषणको जोखिममा रहेका छन् भने २७२ जना मध्यम कुपोषित पाइएको छ। अभियानअन्तर्गत एक हजार ८६४ बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो।

कुपोषित बालबालिकाको सङ्ख्या अपेक्षाभन्दा बढी देखिएपछि नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई थप तालिम दिँदै पुनः पोषण परीक्षण (स्क्रिनिङ) अभियान सञ्चालन गरेको छ। स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार नगरपालिकाले बालबालिकाको पोषण सुधारलाई प्राथमिकतामा राख्दै कुपोषित बालबालिकालाई उपचारात्मक खाना उपलब्ध गराउने व्यवस्था गरेको छ।

साथै, वडा–वडामा स्वास्थ्य संस्था स्थापना गरी गर्भावस्थादेखि नै पोषण सुधारका कार्यक्रम सञ्चालन गरिँदै आएको छ। स्वयंसेविकासँगको छलफलमा छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था पहिचान, मूल्याङ्कन तथा आवश्यक उपचारमा विशेष ध्यान दिने विषयमा जोड दिइएको छ। समुदायस्तरमा पोषणसम्बन्धी सचेतना अभिवृद्धि गर्न, घरायसी करेसाबारी तथा बालभिटाको प्रयोग बढाउन र परिवारलाई जिम्मेवार बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले गर्भवती महिला तथा सुत्केरी आमालाई नियमित स्वास्थ्य जाँच, सन्तुलित आहार, स्तनपान, पूरक आहार र पोषणसम्बन्धी परामर्श दिँदै आएका छन्। उनीहरूका अनुसार समुदायमा पोषण सुधारका लागि स्वास्थ्यकर्मी र स्वयंसेविकाको प्रयास मात्र पर्याप्त नभई परिवारको सक्रिय सहभागिता आवश्यक छ।

नगरपालिकाले सुत्केरी महिलाको पोषण सुधारलाई समेत प्राथमिकता दिएको छ। यसअन्तर्गत टीकापुर–४ ले ५० जना सुत्केरी महिलालाई आधा किलो घ्यू र एक क्यारेट अण्डा वितरण गरेको छ। स्थानीय तहले यस्ता कार्यक्रममार्फत आमा र शिशुको पोषण अवस्था सुधार गर्ने लक्ष्य लिएको जनाएको छ।

Facebook Comments Box