कतारको ग्यास उत्पादन केन्द्रमा विस्फोट: १२ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु , नेपालीसहित दर्जनौँ घाइते

काठमाडौं, असार ९ – कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा आइतबार भएको विस्फोटमा नेपालीसहित विभिन्न देशका नागरिक घाइते भएका छन्। घटनामा १२ भारतीय र एक पाकिस्तानी नागरिकको मृत्यु भएको पुष्टि भएको छ भने ६६ भन्दा बढी व्यक्ति घाइते भएका छन्।

घाइतेहरूमा नेपाल, कतार, भारत, पाकिस्तान, बंगलादेश, केन्या, घाना, तान्जानिया र नाइजेरियाका नागरिक रहेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको भए पनि घाइतेहरूको विस्तृत नामावली सार्वजनिक गरिएको छैन। कतारका ऊर्जा मन्त्री साद अल–काबीले सोमबार पत्रकार सम्मेलनमार्फत घटनामा भएको मानवीय क्षतिको विवरण सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार विस्फोटका कारण भएको क्षतिको प्रारम्भिक मूल्याङ्कन जारी छ।

दोहास्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत घटनामा १२ भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको छ। दूतावासले कतारी अधिकारीहरूलाई उद्धृत गर्दै सबै घाइतेहरूको अवस्था स्थिर रहेको र उनीहरूले आवश्यक उपचार पाइरहेको जनाएको छ। ऊर्जा मन्त्री अल–काबीले घटनालाई दुर्घटनाका रूपमा व्याख्या गर्दै यसमा कुनै तोडफोड वा शत्रुतापूर्ण गतिविधिको संलग्नता नरहेको स्पष्ट पार्नुभयो। “यो एक दुर्घटना हो, कुनै आक्रमण वा तोडफोडको परिणाम होइन,” उहाँले बताउनुभयो।

पश्चिम एसियामा विगतमा देखिएको क्षेत्रीय तनावका कारण प्रारम्भिक रूपमा आक्रमणको आशंका गरिए पनि कतार सरकारले उक्त सम्भावनालाई अस्वीकार गरेको छ।  प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटपछि ठूलो आगोको ज्वाला र बाक्लो धुवाँ देखिएको थियो। विस्फोटको आवाज राजधानी दोहासम्म महसुस गरिएको बताइएको छ। आगलागी भने आइतबार रातिनै नियन्त्रणमा लिइएको अधिकारीहरूले जनाएका छन्।

ऊर्जा मन्त्रीका अनुसार घटनाले ग्यास निर्यात वा स्थानीय आपूर्तिमा कुनै प्रभाव पारेको छैन। साथै वातावरणीय असरसमेत नदेखिएको उहाँको भनाइ छ। कतारको ऊर्जा पूर्वाधारका लागि महत्वपूर्ण मानिने रस लाफान क्षेत्र विश्वकै प्रमुख प्राकृतिक ग्यास उत्पादन र प्रशोधन केन्द्रहरूमध्ये एक मानिन्छ। घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको कतारी अधिकारीहरूले बताएका छन्।

Facebook Comments Box