लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन
मुस्ताङ, ३० फागुन – लोमान्थाङ गाउँपालिका मा निर्माण गरिएको पाँच शय्याको आधारभूत अस्पताल भवन एक वर्षदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। नेपाल–चीन सीमावर्ती क्षेत्रका स्थानीयलाई विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको २७ कोठाको अस्पताल भवन सञ्चालनमा आउन नसकेको हो।
लोमान्थाङ–४ स्थित धुराङ क्षेत्रमा निर्माण गरिएको उक्त दुईतले भवन एक वर्षअघि सम्पन्न भए पनि आवश्यक जनशक्ति र स्वास्थ्य उपकरणको अभावका कारण प्रयोगमा आउन सकेको छैन। सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाको लागत साझेदारीमा अस्पताल निर्माण गरिएको थियो। आर्थिक वर्ष २०७८/७९ मा निर्माण सुरु भएको भवन गत वर्ष फागुनमा सम्पन्न भएको हो।
दुई वर्षको सम्झौता अवधि रहेको निर्माण कार्य कोभिड–१९ महामारीका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको बताइएको छ। करिब रु सात करोड १९ लाख लागतमा बनेको उक्त अस्पताल भवन लोमान्थाङ बजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको छ। अस्पतालमा शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, प्रयोगशाला, प्रसूति कक्ष, फार्मेसी कक्ष तथा चिकित्सक र स्वास्थ्यकर्मी बस्ने आवाससहितका सुविधा निर्माण गरिएका छन्।
माथिल्लो मुस्ताङ क्षेत्रमा सामान्य उपचारका लागि स्वास्थ्य चौकी र स्वास्थ्य इकाइ भए पनि विशेषज्ञ चिकित्सकसहितको सेवा उपलब्ध नहुँदा स्थानीयले समस्या भोगिरहेका छन्। गम्भीर बिरामी परेमा करिब १०० किलोमिटर टाढाको जोमसोम पुग्नुपर्ने बाध्यता रहेको छ। त्यहाँ पनि पर्याप्त सेवा नपाएमा बिरामीलाई पोखरा वा काठमाडौँ लैजानुपर्ने अवस्था छ।
गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नर्बु गुरुङ का अनुसार अस्पताल सञ्चालनका लागि आवश्यक चिकित्सक, जनशक्ति तथा उपकरणको व्यवस्था हुन नसक्दा भवन खाली रहेको हो। सरकारले दरबन्दी र आवश्यक सामग्री उपलब्ध गराएमा अस्पताल सञ्चालन गर्न सकिने उनले बताए।
उनका अनुसार गण्डकी प्रदेश सरकार का स्वास्थ्य मन्त्रीले माथिल्लो मुस्ताङ भ्रमणका क्रममा आवश्यक स्वास्थ्य उपकरण खरिदका लागि लागत अनुमान र विवरण पठाउन निर्देशन दिएका थिए। सोअनुसार गाउँपालिकाले करिब डेढ करोड रुपैयाँ बराबरका उपकरण खरिदका लागि आवश्यक कागजात प्रदेश सरकारलाई पठाइसकेको जनाएको छ।
हालका लागि उक्त भवनमा हेल्थ पोस्ट सारेर सामान्य स्वास्थ्य सेवा सञ्चालन गर्न सकिने अवस्था भए पनि लोमान्थाङ बजारबाट टाढा रहेकाले स्थानीयका लागि पहुँच कठिन हुने भन्दै प्रयोगमा आउन सकेको छैन। माथिल्लो मुस्ताङका स्थानीय बासिन्दा र पर्यटकलाई भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल भवन सञ्चालनका लागि सङ्घीय र प्रदेश सरकारको ध्यान जानुपर्ने आवश्यकता रहेको गुरुङले बताएका छन्।

