एमाले निर्वाचन समीक्षा कार्यदलको बैठक आज बस्दै
काठमाडौँ, २६ भदौ – नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक आज बस्दैछ । कार्यदलका सदस्य तथा एमाले सचिव डा. राजन भट्टराईका अनुसार बैठक बिहान ११ बजे बोलाइएको छ । बैठकमा महासचिव शंकर पोखरेलले तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’सम्बन्धी प्रतिवेदनलाई कार्यदल संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पुनर्लेखनसहित प्रस्तुत गर्ने तयारी छ ।
गत फागुन २१ गतेको निर्वाचनमा एमालेले व्यहोरेको पराजयको समीक्षा गर्न जेठ पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले विभिन्न प्रदेश र विभागबाट सुझाव सङ्कलन गरेपछि प्रतिवेदन तयार गर्ने जिम्मेवारी महासचिव पोखरेललाई दिएको थियो ।
पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदामा नेतृत्वको भूमिकामाथि प्रश्न उठाउँदै नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषय अघि सारिएको भन्दै अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट बनेको एमाले नेताहरूको भनाइ छ । त्यसपछि संयोजक बादलले मस्यौदा पुनर्लेखन गरेको बताइएको छ ।
बादलको पुनर्लिखित प्रतिवेदनमा चुनावी पराजयलाई तत्कालीन राजनीतिक परिस्थितिसँग जोडेर विश्लेषण गरिएको छ । प्रतिवेदनले निर्वाचन परिणामका लागि अध्यक्ष ओलीलाई मात्र जिम्मेवार ठहर्याउन नहुने तर्क गर्दै उहाँको नेतृत्वको प्रतिरक्षा गरेको छ ।
प्रतिवेदनमा संविधान जारी गर्ने निर्णय, भारतीय नाकाबन्दीको प्रतिरोध, चीनसँगको पारवहन सम्झौता, नयाँ नक्सा प्रकाशन तथा भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा ओलीको भूमिकाको चर्चा गरिएको छ । साथै, एउटा निर्वाचनको पराजयका आधारमा पार्टी नेतृत्व परिवर्तनको बहस अघि बढाउनु उचित नहुने तर्क गरिएको छ ।
यस्तै, ७० वर्षे उमेरहद, दुई कार्यकालको सीमा र पुस्तान्तरणको मुद्दाप्रति पनि प्रतिवेदनले असहमति जनाएको छ । पार्टीको सङ्गठनात्मक संरचना र नेतृत्वसम्बन्धी विषयमा लेनिनवादी सिद्धान्त तथा क्याडर आधारित संरचनालाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन हुँदा तत्काल बधाई दिने तथा ओलीको गिरफ्तारीविरुद्ध पर्याप्त प्रतिरोध नगरेको विषयमा पार्टी सचिवालयको तत्कालीन निर्णयप्रति समेत प्रतिवेदनमा असन्तुष्टि जनाइएको बताइएको छ ।

