पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमामा जोड्दै बागमती प्रदेश सरकार
बागमती, ४ असार – बागमती प्रदेश सरकारले प्रदेशभित्र कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोष तथा बिमा कार्यक्रममा आबद्ध गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत स्वतन्त्र प्रेसको सम्मान र पत्रकारको पेसागत सुरक्षालाई सुदृढ बनाउन प्रदेश सरकारले यस कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरेको हो।
नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरका अनुसार बागमती प्रदेशका १३ जिल्लामा दुई हजार ५०० भन्दा बढी पत्रकार सक्रिय छन्। उहाँले पत्रकारलाई सामाजिक सुरक्षा कोष र बिमा कार्यक्रममा आबद्ध गराउने उद्देश्यले विनियोजन गरिएको बजेटले पत्रकारहरूको पेसागत सुरक्षा र सामाजिक संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
साथै, उक्त कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रको हित, क्षमता विकास र प्रवर्द्धनका लागि बजेटमार्फत घोषणा गरिएका अन्य कार्यक्रमहरू पनि प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ। प्रदेश सरकारले पत्रकारको सामाजिक तथा आर्थिक सुरक्षालाई प्राथमिकतामा राख्दै यो कार्यक्रम अघि बढाएको जनाएको छ।

