परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा
काठमाडौं, ३१ जेठ – परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन पुगेका छन्। गएराति बेइजिङतर्फ प्रस्थान गरेका मन्त्री खनाल आजदेखि विभिन्न भेटघाट, अन्तरक्रिया तथा औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। भ्रमणको पहिलो दिन उनले चीनमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।
चीनका विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा मन्त्री खनाल चीन भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा उनले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। साथै, चीन सरकारका उच्च पदस्थ अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। भेटवार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक तथा विकास सहकार्य विस्तार गर्ने र आपसी हितका विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
भ्रमणका क्रममा बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा पनि मन्त्री खनाल सहभागी हुनेछन्। सम्मेलनको उद्देश्य नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्नु रहेको छ। सो अवसरमा उनले चिनियाँ व्यवसायीहरूसँग अन्तरक्रिया गर्दै नेपालमा उपलब्ध लगानीका अवसर, सम्भावना तथा अनुकूल वातावरणबारे जानकारी गराउनेछन्।
त्यसैगरी, नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुँदै मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। मन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायत सदस्य सहभागी रहेका छन्।

