विपन्न परिवारलाई आयआर्जनसँग जोड्न पाडी वितरण
नवलपरासी, ३१ जेठ – नवलपरासीको बौदीकाली गाउँपालिका ले विपन्न परिवारको आयआर्जन वृद्धि गर्न भैँसीका पाडी अनुदानमा वितरण गरेको छ। गाउँपालिकाको वडा नं. २ डेढगाउँका १५ विपन्न परिवारलाई ९० प्रतिशत अनुदानमा पाडी उपलब्ध गराइएको हो। गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठ का अनुसार विपन्न परिचयपत्र प्राप्त परिवारलाई रु ४ लाख ५० हजार बजेटबाट पाडी वितरण गरिएको हो।
पहाडी क्षेत्रमा आम्दानीका स्रोत विस्तार गर्न र पशुपालनलाई प्रोत्साहन गर्न यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ। गत वर्ष पनि गाउँपालिकाले पाडी र बङ्गुर वितरण गरेको थियो। यस वर्ष पाडीसँगै केही परिवारलाई बाख्रा पनि उपलब्ध गराइएको छ भने छिट्टै ९० वटा बङ्गुरका बच्चा वितरण गर्ने तयारी भइरहेको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा ले पशुपालन र दुग्ध उत्पादनलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। उहाँका अनुसार स्थानीय वित्तीय संस्थासँगको सहकार्यमा किसानलाई सहुलियत कृषि ऋण उपलब्ध गराइएको छ, जसमा गाउँपालिकाले ९० प्रतिशत ब्याज व्यहोर्ने व्यवस्था गरेको छ।
दुग्ध उत्पादन वृद्धि गर्न गाउँपालिकाले अकला दुग्ध उत्पादक कृषि सहकारी संस्था लिमिटेड सँग सहकार्य गरी प्रतिलिटर दूधमा रु ७.५० प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। साथै दूध सङ्कलन तथा व्यवस्थापनका लागि सहकारीलाई प्रतिलिटर रु २.५० सहयोग प्रदान गरिँदै आएको छ।
अध्यक्ष ओझाका अनुसार कालीगण्डकी करिडोर निर्माणपछि यातायात पहुँच सहज भएकाले स्थानीय उत्पादनलाई नजिकका बजारसम्म पुर्याउन सजिलो भएको छ। यसै कारण कृषि तथा पशुपालनलाई प्राथमिकता दिँदै उत्पादन र आम्दानी वृद्धि गर्ने योजनामा गाउँपालिका अघि बढिरहेको छ।

