डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन

काठमाडौँ, ३० जेठ – स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। शुक्रबार मध्यराति सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ। संस्थाको विधानअनुसार डाँगी स्वतः अध्यक्ष पदमा चयन हुनुभएको हो।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित हुनुभएको छ। महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ। सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन हुनुभएको छ।

कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शङ्कर बस्याल विजयी हुनुभएको छ। उहाँले २६७ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेल ले ८२ मत प्राप्त गर्नुभयो। त्यस्तै खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित हुनुभएको छ।

नवनिर्वाचित कार्यसमितिले आगामी कार्यकालमा नेपालको निजी जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकास, लगानी प्रवर्द्धन तथा ऊर्जा उत्पादन विस्तारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

Facebook Comments Box