वसन्तकालीन हिमाल आरोहण सम्पन्न, सरकारलाई एक अर्ब २६ करोड रुपैयाँभन्दा बढी राजस्व

काठमाडौँ, २७ जेठ – सन् २०२६ को वसन्तकालीन हिमाल आरोहण सिजन सम्पन्न भएको छ। यस अवधिमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न ३१ हिमाल आरोहणका लागि स्वदेशी तथा विदेशी गरी एक हजार १९५ जनाले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार छ हजार ५०० मिटरभन्दा अग्ला हिमाल आरोहणका लागि अनुमति प्रदान गर्ने व्यवस्था रहेको छ। यस वर्ष अनुमति लिने आरोहीमध्ये सबैभन्दा धेरै चीनका १५९, अमेरिकाका १५२, भारतका १०१, जर्मनीका ७५, बेलायतका ७४ तथा रसियाका ७० जना रहेका छन्।

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी हिमाल गौतमका अनुसार सगरमाथा आरोहणका लागि मात्रै ५६ देशका ४९५ जनाले अनुमति लिएका थिए। तीमध्ये ३९० पुरुष र १०५ महिला रहेका थिए। अनुमति प्राप्त आरोहीका साथै सहयोगी र गाइडसहित एक हजारभन्दा बढी व्यक्तिले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ।

सगरमाथा आरोहण गर्ने विदेशी आरोहीमध्ये चीनका १०९ जना अग्रस्थानमा रहेका छन्। त्यसपछि अमेरिका, भारत, बेलायत, रसिया, अष्ट्रेलिया, जापान, क्यानडा, नेपाल र आयरल्याण्डका आरोहीको उल्लेख्य सहभागिता रहेको छ। यस वर्ष सगरमाथाको चुचुरोमा ३२औँ पटक पुगेर कामिरिता शेर्पाले नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको छ। सोलुखुम्बूका शेर्पाले जेठ ३ गते सफल आरोहण गर्दै आफ्नै पुरानो कीर्तिमान तोड्नुभएको हो।

महिला आरोहीतर्फ सङ्खुवासभाकी लाक्पा शेर्पाले ११औँ पटक सगरमाथा आरोहण गरी आफ्नै विश्व कीर्तिमानलाई थप उचाइ दिनुभएको छ। हिमाल आरोहणबाट सरकारको राजस्व सङ्कलन पनि उल्लेखनीय रहेको छ। पर्यटन विभागका अनुसार सगरमाथा आरोहण अनुमतिबाट मात्रै एक अर्ब आठ करोड १० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।

त्यसैगरी लोत्से हिमालबाट छ करोड ६८ लाख रुपैयाँ, मकालु प्रथमबाट तीन करोड १७ लाख रुपैयाँ, आमा दब्लमबाट एक करोड ६६ लाख रुपैयाँ, कञ्चनजङ्घाबाट एक करोड ६५ लाख रुपैयाँ तथा अन्नपूर्ण प्रथमबाट एक करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व प्राप्त भएको छ। समग्रमा वसन्तकालीन आरोहण सिजनमा विभिन्न हिमाल आरोहण अनुमति प्रदान गरेबापत सरकारले एक अर्ब २६ करोड ४७ लाख ४१ हजार ३०६ रुपैयाँ राजस्व सङ्कलन गरेको पर्यटन विभागले जनाएको छ।

Facebook Comments Box