गृहमन्त्री गुरुङद्वारा पदभार ग्रहण, दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय
काठमाडौं, २७ जेठ – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ। पदभार ग्रहणपछि उहाँले पुराना तथा चर्चित घटनाको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरुङले वि.सं. २०५८ सालको दरबार हत्याकाण्डसम्बन्धी फाइल पुनः अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो।
उहाँले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सुदृढ र स्रोतसाधनयुक्त बनाउने तथा हाल अनुसन्धान भइरहेका विभिन्न मुद्दाको छानबिनलाई छिटो निष्कर्षमा पुर्याउने निर्णयमा समेत हस्ताक्षर गर्नुभएको बताउनुभयो। गृहमन्त्री गुरुङले पछिल्लो समय ‘जेनजी’ आन्दोलनका क्रममा दर्ता भएका फौजदारी मुद्दाका विषयमा आवश्यक अध्ययन गरी उपयुक्त निर्णय लिने प्रक्रिया अगाडि बढाइने पनि उल्लेख गर्नुभयो।
आफूमाथि लागेका आरोपबारे प्रतिक्रिया दिँदै उहाँले ती आरोप तथ्यहीन रहेको दाबी गर्नुभयो। “ममाथि जस्तोसुकै आरोप लगाए पनि सामना गर्न सक्छु, तर नेपाली चेलीबेटीमाथि अन्याय भएको अवस्था स्वीकार गर्न सक्दिनँ,” उहाँले भन्नुभयो। उहाँले सञ्चारमाध्यमको भूमिकाबारे टिप्पणी गर्दै मिडिया ट्रायलका कारण कुनै पनि व्यक्ति अनावश्यक दबाबमा पर्न नहुने धारणा व्यक्त गर्नुभयो। “मिडिया ट्रायलका कारण कसैले आत्महत्यासम्म गर्नुपर्ने अवस्था नआओस् भन्नेमा सबै संवेदनशील हुनुपर्छ,” उहाँले भन्नुभयो। गृहमन्त्री गुरुङले गृह प्रशासनलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने दिशामा आफू केन्द्रित रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

