सर्वदलीय बैठकमा कांग्रेस सभापति गगन थापा सहभागी नहुने

काठमाडौं, २५ जेठ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने को आह्वानमा सोमबार बस्ने सर्वदलीय बैठकमा गगन थापा सहभागी नहुने भएका छन्। बैठकमा नेपाली कांग्रेस का तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद सास फिर्दोस आलम सहभागी हुने जनाइएको छ। सांसद आलमले कांग्रेस सभापति थापा बैठकमा सहभागी नहुने जानकारी दिए पनि त्यसको कारण भने खुलाएका छैनन्।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार बैठक बिहान ९ बजे सिंहदरबार स्थित संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको सभाहलमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई–दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।

रास्वपा सभापति लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी जेठ २२ गते स्वदेश फर्किएका थिए। भ्रमणपछि विकसित राजनीतिक परिस्थितिका बीच उनले सर्वदलीय बैठक आह्वान गरेका हुन्। यतिबेला संसद्मा प्रधानमन्त्री बालेन्द्र शाह को सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विवाद जारी छ।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर माफी माग्नुपर्ने तथा उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइनुपर्ने माग गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अवरुद्ध गरिरहेका छन्। विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद् सञ्चालन हुन नदिने अडान कायम राखेका छन्। आज प्रतिनिधिसभाको बैठक बस्दैछ भने राष्ट्रियसभाको अर्को बैठक जेठ २६ गतेका लागि तय गरिएको छ।

Facebook Comments Box