समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौं, २५ जेठ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक विषयमा छलफल तथा साझा धारणा निर्माण गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेको छ। रास्वपाका सभापति रवि लामिछाने ले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संसद्को भूमिका तथा राष्ट्रिय महत्वका विषयमा छलफल गर्न सोमबार बिहान ९ बजे बैठक बोलाएका हुन्।

बैठक सिंहदरबार स्थित संसद् सचिवालयअन्तर्गतको सार्वजनिक लेखा समितिको सभाहलमा बस्ने तय भएको छ। छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, संसद्को प्रभावकारिता तथा राष्ट्रिय सरोकारका विषयमा राजनीतिक दलहरूबीच संवाद हुने जनाइएको छ।रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटी का अनुसार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई बैठकमा सहभागी हुन अनुरोध गरिएको छ।

छलफललाई प्रभावकारी र निर्णयमुखी बनाउन प्रत्येक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधिलाई आमन्त्रण गरिएको उनले जानकारी दिए। रास्वपाले संसद्मा प्रतिनिधित्व गर्ने दलहरूबीच प्रत्यक्ष संवाद र सहकार्यले विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न तथा राष्ट्रिय महत्वका मुद्दामा सहमति निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

Facebook Comments Box