पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौंसहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं, १२ जेठ – पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्र, विशेषगरी कैलाली र कञ्चनपुर आसपासमा तातो हावा चल्ने सम्भावना रहेको जनाएको छ । साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Facebook Comments Box