हात्ती धपाउन झापामा विशेष गस्ती

झापा, २४ असोज – धान पाक्ने समय नजिकिँदै जाँदा झापाको बाहुनडाँगी क्षेत्रमा फेरि हात्तीको आतंकको जोखिम बढेको छ । सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने सम्भावना देखिएपछि डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको हो ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा खटिएको छ । किसानले धान भित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने बताइएको छ । विगतका वर्षहरूमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रका खेतबारीमा ठूलो क्षति पुर्‍याउँदै बाली सखाप पारेका थिए ।

हात्तीको आक्रमणबाट किसानले बारम्बार आर्थिक नोक्सानी भोग्दै आएका छन् । गत दुई दशकमा मात्र झापामा हात्तीको आक्रमणमा परी ७५ जनाको ज्यान गइसकेको छ भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

Facebook Comments Box