सप्तरीमा भीषण आगलागी, १३ घरगोठ जले
सप्तरी, २७ वैशाख – तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामा मा शनिबार साँझ भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय रामअवतार यादव को गोठमा बालिएको घुरबाट आगो सल्किएको अनुमान गरिएको छ।
साँझ करिब ७ बजे सुरु भएको आगो तीव्र रूपमा फैलिँदा रामअवतार यादवका दुई घर र एक गोठ, जुगाई यादवका दुई घर र एक गोठ, अनिल यादव (गिरिजा) का दुई घर र एक गोठ, योगिन्द्र यादवको एक घर, राजकुमार यादवको एक घर तथा धिरेन्द्र यादवको एक घर पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन्।
आगलागी नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराज बाट बारुणयन्त्र खटाइएको थियो। साथै को.बरसाइन प्रहरी चौकी का प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको जनाइएको छ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४० लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको र क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको डम्बरबहादुर पुरी ले जानकारी दिनुभयो।

