ललितपुरमा भ्यानले चार गाडी ठक्कर दिँदा एक युवकको मृत्यु

काठमाडौँ, २५ मङ्सिर – ललितपुरको यूएन पार्क नजिक बिहीबार एका‍इसात्ति भएकाे सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ। कुपण्डोल पुलबाट यूएन पुलतर्फ जाँदै गरेको बा.प्र. ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यानले विपरीत दिशाबाट आएका चार गाडीलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरीका अनुसार भ्यानले बा.प्र. ०१–०२२ च ००६१ नम्बरको निजी कार, बा २ ज ४७६० नम्बरको भाडाकाे कार, पुनः बा.प्र. ०१–०२२ च ००६१ नम्बरकै अर्को निजी कार तथा बा ५१ प ९५६९ नम्बरको स्कूटरलाई ठक्कर दिएको हो। स्कूटर कुपण्डोलबाट यूएन पुलतर्फ जाँदै गरेको बताइएको छ।

दुर्घटनामा स्कूटर चालक रौतहट, गौर नगरपालिका–९ का २८ वर्षीय राजिव सिन्हा गम्भीर घाइते भएका थिए। उपचारका लागि नर्भिक अस्पताल पुर्‍याइएका सिन्हाको उपचारकाक्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

प्रहरीले भ्यान चालक काठमाडौँ नागार्जुन नगरपालिका–६ का २० वर्षीय रोहित रञ्जितकारलाई नियन्त्रणमा लिएको छ। अन्य तीनवटै गाडी र तिनका चालकलाई पनि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।

Facebook Comments Box