प्रधानन्यायाधीशमा मनोज शर्मा सिफारिस, ‘न्याय सम्पादनमा गतिशीलता दिने नेतृत्व’ भएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ, २५ वैशाख – प्रधानमन्त्री बालेन्द्र शाह ले न्यायपालिकामा प्रभावकारी र गतिशील नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै न्यायाधीश मनोज शर्मा लाई प्रधानन्यायाधीशका लागि सिफारिस गरिएको बताएका छन्। प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार संवैधानिक परिषद् को बैठकले डा. शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो।

सचिवालयका अनुसार न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका न्यायाधीशलाई सर्वोच्च जिम्मेवारी दिन लागिएको दाबी गरिएको छ। सचिवालयले सर्वोच्च अदालतमा लामो समयदेखि थाती रहेका मुद्दाको चाप कम गर्न सक्षम नेतृत्वको खोजी भइरहेका बेला डा. शर्माको कार्यसम्पादन प्रभावकारी देखिएको जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६–२०८१) अन्तर्गतको कार्यसम्पादन मूल्याङ्कनमा डा. शर्मा अन्य समकालीन न्यायाधीशभन्दा अगाडि देखिएका छन्। सर्वोच्च अदालतको तथ्याङ्क उद्धृत गर्दै सचिवालयले प्रस्तावित न्यायाधीशहरूमध्ये डा. शर्माले हालसम्म सात हजार ३८८ मुद्दा तथा निवेदनको अन्तिम टुङ्गो लगाएको जनाएको छ।

आर्थिक वर्ष २०८०/८१ मा मात्रै उहाँले दुई हजार १८१ मुद्दा फछ्र्योट गरेको सचिवालयको दाबी छ। प्रधानमन्त्री सचिवालयले सात हजारभन्दा बढी मुद्दा टुङ्ग्याउने एकमात्र प्रस्तावित न्यायाधीश डा. शर्मा रहेको उल्लेख गर्दै न्याय सम्पादनमा उहाँको सक्रियता र कार्यगतिलाई सिफारिसको मुख्य आधार बनाइएको जनाएको छ।

Facebook Comments Box