अघिल्लो सरकारबाट नियुक्ति पाएका १५९४ जना पदाधिकारी अब पदमुक्त : असिम शाह

काठमाडौं, २० वैशाख – प्रधानमन्त्री बालेन शाह (वालेन्द्र शाह)का राजनीतिक सल्लाहकार असिम शाह ले अघिल्लो सरकारले विभिन्न निकायमा गरेका सबै राजनीतिक नियुक्ति एकमुष्ट रूपमा पदमुक्त हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले रामचन्द्र पौडेल द्वारा जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पछि यस्तो प्रक्रिया सुरु हुने स्पष्ट पारेका हुन्।

उनका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा जारी उक्त अध्यादेशले प्रशासनिक सुधार र राज्यका निकायलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ। यससँगै विभिन्न ऐन तथा संरचनाअन्तर्गत राजनीतिक आधारमा नियुक्त गरिएका करिब १ हजार ५९४ जना पदाधिकारी पदमुक्त हुने अवस्था सिर्जना भएको उनले उल्लेख गरेका छन्।

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका आठ अध्यादेशमध्ये हालसम्म छ वटा अध्यादेश जारी भइसकेका छन्। तीमध्ये ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ पनि एक हो। उक्त अध्यादेश कार्यान्वयनमा आएपछि वर्तमान सरकारलाई संस्थान, प्रतिष्ठान, आयोग, कोष, विश्वविद्यालय, निगम तथा बीमा लगायत विभिन्न निकायमा नयाँ नियुक्ति गर्ने बाटो खुलेको बताइएको छ।

Facebook Comments Box