सहकारी बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना
काठमाडौँ, वैशाख १४ — लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ व्यवस्था लागू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ले ‘समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०८३’ राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनमा ल्याएको हो।
कार्यविधिअनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति अन्तर्गत ‘चक्रीय कोष’ स्थापना गरिएको छ, जसबाट समस्याग्रस्त घोषणा भएका सहकारीका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गरिनेछ। यस कोषमा नेपाल सरकारबाट प्राप्त रकम, सहकारी संस्थाको सम्पत्ति बिक्रीबाट उठेको रकम, सञ्चालक तथा जिम्मेवार व्यक्तिबाट असुल गरिएको रकम तथा अन्य स्रोतबाट आएको रकम जम्मा गरिने व्यवस्था गरिएको छ।
कार्यविधिले पाँच लाख रुपैयाँसम्म बचत भएका व्यक्तिलाई ‘साना बचतकर्ता’ का रूपमा वर्गीकृत गर्दै उनीहरूलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ। साथै ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, एकल महिला, दलित, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखिएको छ।
रकम फिर्ताका लागि बचतकर्ताले दाबी निवेदन दिनुपर्नेछ। सार्वजनिक सूचना जारी भएपछि नागरिकता, सेयर सदस्यता प्रमाणपत्र, प्यान नम्बर, राष्ट्रिय परिचयपत्र, बचत विवरण, बैंक खाता नम्बर, ऋण विवरणलगायत कागजात पेश गर्नुपर्नेछ। स्वीकृत भएपछि रकम सिधै सम्बन्धित व्यक्तिको बैंक खातामा पठाइनेछ। कोषमा पर्याप्त रकम नभएको अवस्थामा सबै बचतकर्तालाई अनुपातका आधारमा (दामासाही) रकम वितरण गर्न सकिने व्यवस्था गरिएको छ।
यद्यपि, ऋण नतिरेका बचतकर्ता, सहकारीका सञ्चालक तथा व्यवस्थापक र उनीहरूको परिवार, अपचलनमा संलग्न व्यक्ति तथा अदालतमा मुद्दा विचाराधीन रहेका दाबीकर्ताले तत्काल रकम फिर्ता नपाउने उल्लेख गरिएको छ। साथै, समस्याग्रस्त सहकारीका जिम्मेवार व्यक्तिको सम्पत्ति र बैंक खाता रोक्का गरिने तथा आवश्यक परे लिलामीमार्फत रकम असुल गरी बचतकर्तालाई फिर्ता गरिने व्यवस्था पनि गरिएको छ।

