सरकार गठनको एक महिनामै तीन मन्त्री विवादमा
काठमाडौँ, १ वैशाख – राष्ट्रिय स्वतन्त्र पार्टी का संसदीय दलका नेता वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको एक महिना नबित्दै तीन मन्त्री विवादमा तानिएका छन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट झण्डै दुईतिहाइ बहुमत प्राप्त गरेको रास्वपाबाट चैत १३ गते शाह प्रधानमन्त्री नियुक्त भई १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको थियो।
सरकार गठन भएको केही सातामै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह विवादमा तानिएका थिए। उनकी पत्नी डा. जुनु श्रेष्ठ स्वास्थ्य बिमा बोर्डको बैठकमा सहभागी भएपछि विवाद उत्पन्न भएको थियो।
बोर्डको नियमअनुसार लगातार तीनभन्दा बढी बैठकमा अनुपस्थित भए सदस्य पद स्वतः खारेज हुने व्यवस्था छ। सोही आधारमा पदमुक्त गरिएकी श्रेष्ठ पुनः बोर्डमा सहभागी भएको विषय सार्वजनिक भएपछि आलोचना भएको थियो।
उक्त विवादपछि रास्वपाले साहलाई मन्त्री पदबाट हटाएको थियो भने स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता लाई सचेत गराइएको थियो।यसैबीच अहिले गृहमन्त्री सुधन गुरुङ पनि विवादमा तानिएका छन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी दिपक भट्ट सँग उनको व्यावसायिक सम्बन्ध रहेको र जेनजी आन्दोलनपछि खरिद गरिएको सेयर सम्पत्ति विवरणमा नखुलाएको आरोप लागेको छ।
गृहमन्त्री गुरुङले भने सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै आफूले कुनै गलत कार्य नगरेको दाबी गरेका छन्। “पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्नेछु र आवश्यक अनुसन्धानमा सहयोग गर्न तयार छु,” उनले उल्लेख गरेका छन्।
सोमबार उनले रवि लामिछाने सँग भेट गरी आफ्नो धारणा स्पष्ट पारेका थिए। उता, नेपाली कांग्रेस ले गृहमन्त्री गुरुङको राजीनामा माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसे ले विज्ञप्ति जारी गर्दै आरोपबारे स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न माग गरेका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङदेन ले पनि गृहमन्त्रीमाथि छानबिन गरी सरकार र रास्वपाले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताएका छन्।

