प्रधानमन्त्रीले विश्व विद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गरे
काठमाडौं, ७ वैशाख – बालेन शाहले आज विश्वविद्यालय तथा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन्।
सिंहदरबारमा आयोजित उक्त छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए।
सचिवालयका अनुसार बैठकमा विश्वविद्यालय र प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या तथा तिनका समाधानका उपायबारे विस्तृत छलफल भएको थियो। केही तत्कालै समाधान गर्न सकिने विषयहरू पनि उठाइएको जनाइएको छ।
छलफलमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए।
त्यस्तै विश्वविद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू उपस्थित थिए।
यसका साथै कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।

