आइतबार सेवा दिन नसकिने आयुर्वेद चिकित्सक संघको घोषणा
काठमाडौं, २९ चैत – नेपाल आयुर्वेद चिकित्सक संघ ले आइतबार सार्वजनिक बिदाका दिन सेवा दिन नसकिने जनाएको छ । संघका अध्यक्ष डा. शंकर गौतम ले शनिबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार सेवा सञ्चालन गर्न दिएको निर्देशनप्रति ध्यानाकर्षण भएको बताएका छन् ।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले आइतबार पनि सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, चिकित्सकको कार्यबोझलाई बेवास्ता गर्दै यस्तो निर्देशन दिइएको भन्दै संघले आपत्ति जनाएको छ । विज्ञप्तिमा श्रम ऐन तथा अन्तर्राष्ट्रिय मानव अधिकारले सुनिश्चित गरेका श्रम अधिकारप्रति सरकार उदासीन भएको उल्लेख गरिएको छ ।
संघका अनुसार आयुर्वेद स्वास्थ्य संस्थामा पहिले नै जनशक्तिको अभाव रहेको अवस्थामा थप बिदा कटौती गर्दा चिकित्सकको कार्यक्षमतामा असर पर्नेछ । सीमित जनशक्तिका कारण सट्टा बिदा दिन पनि कठिन हुने बताइएको छ । यस निर्णयले नकारात्मक प्रभाव पार्ने भन्दै संघले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेको छ । साथै, आयुर्वेद स्वास्थ्य क्षेत्र सुधारका लागि थप पहल आवश्यक रहेको उल्लेख गर्दै संघले चार बुँदे मागसमेत अघि सारेको छ ।

